मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि...
चितवन | असोज २८, २०८२
सांकेतिक तस्वीर
चितवन: कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ ।
घरधनीसँग जम्काभेट भएपछि निजहरुले आफूहरु प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए ।
घटना विवरणअनुसार नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा चोरी गर्न आएको आफूलाई प्रहरी बताउने व्यक्तिहरु खतिवडासँग जम्काभेट भएपछि प्रहरी भन्दै उम्किएका थिए ।
खतिवडाले भन्नुभयो, “नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लगाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ । रातको १२ बजे खेल सकिएपछि काकाको घरबाट घर फर्किंदा सडक पोलको बत्ती निभेको पाइयो । घरअगाडि बालेको बत्ती पनि बन्द गरेको पाइयो । बत्ती बन्द गरिएकामा शङ्का लाग्यो ।”
“मेरो घरबाट चार घर पर अँधेरोमा केही चीज रोकेर राखेकोसम्म आँखा पुग्यो । जब आफ्नो घर अगाडि सडकमा पुगेँ अँध्यारोमा एक अपरिचित युवा मेरो घरको बरण्डाबाट आँगनमा निस्किए”, घटना विवरण सुनाउँदै उहाँले भन्नुभयो, “एक्कासि नयाँ मान्छे देख्दा म आत्तिएँ । चोर १ भन्ने सम्झेँ । तर बोल्न सकिनँ ।” ती व्यक्तिले यहाँ कारागारबाट भागेको कैदी लुकेको छ रे कहाँ छ ? भन्दै प्रश्न सोधेपछि आफू आत्तिएर काकाको घरतर्फ गएको खतिवडाले बताउनुभयो ।
भाइ विवेक खतिवडा र आफू पुनः घरमा फर्किंदा ती व्यक्ति अगाडि मोटरसाइकलमा रहेका अर्का व्यक्तिसम्म पुगेको उहाँले बताउनुभयो । निजहरुले दाजुभाइलाई आफूहरु प्रहरी भएको र लोकेसनले फरार कैदीबन्दी यहाँ देखाएकाले खोज्दै आएको बताएको उहाँले सुनाउनुभयो ।
घर आउँदा मोटरसाइकल राखेको ठाउँबाट अलि पर सारेको, जुत्ता, हेलमेट सडक किनारमा लगेर राखेको, झ्यालको पल्ला खोलेको पाएपछि बल्ल उनीहरु चोर हुन् भन्ने एकिन भएको खतिवडाले बताउनुभयो ।
राति नै प्रहरीलाई खबर गरी घटनाको विवरण सुनाएको उहाँले जानकारी दिनुभयो । मोटरसाइकलमा रहेका व्यक्तिले हतियारजस्तो वस्तुसमेत बोकेको देखेको खतिवडाले बताउनुभयो ।
उहाँका अनुसार नजिकै रहेको काका कालिदास खतिवडाको घरबाट पल्सर मोटरसाइकल राति नै चोरी भएको छ । उनीहरु बत्ती निभाएर चोर्ने नियतले घरमा पसेको र जम्काभेट भएपछि आफूहरुलाई प्रहरी बताउँदै उम्किएको खतिवडाले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक सुवास भट्टले घटनाको जानकारी पाएसँगै राति प्रहरी परिचालन भएको र घटनाको अध्ययन थालिएको बताउनुभयो । उनीहरु प्रहरी नभएको भन्दै चोरी गर्ने नियतले आएको हुन सक्ने उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले फरार कैदीबन्दी पनि हुन सक्ने आशङ्काबीच सोही कोणबाट समेत अनुसन्धान थालिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यसै भन्न सकिन्नँ, तर सबै कोणबाट अध्ययन थालेका छौँ ।” चितवनसहित देशका धेरै कारागारबाट ठूलो सङ्ख्यामा कैदीबन्दी फरार छन् ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

